धनगढी – दार्चुलामा जिप दुर्घटना हुँदा एक भारतीयको मृत्यु भएको छ। दार्चुलाको महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्यान्की नजिक लास्कु खोलामा मंगलबार प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जिप दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिपमा सवार भारतीय नागरिक ६० वर्षीया कालीदेवी नेगीको मृत्यु भएको हो। नेगीको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यस्तै जीपमा सवार अन्य ९ जना यात्रु घाइते भएका छन्।
दुर्घटनामा परेर घाइते हुनेमा चालक महाकाली नगरपालिका–२ बुढीचौराका २३ वर्षीय महोन लोथ्याल, भारतीय नागरिक ७ वर्षीय विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी छन्। यस्तै ६ वर्षीय किरण कुमारी आग्री, ३८ वर्षीय शान्तिदेवी नेगी, ४७ का दिवान आग्री, ७ का जोतविरसिंह कुवँर, २७ का अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) तर्कराज पाण्डेयले जानकारी बताए।
उनका अनुसार मख्खनराम नेगी, किरण कुमारी आग्री र ७ वर्षीय बालिका विमलादेवी नेगीलाई थप उपचारको लागि भारतको पिथौरागढ रिफर गरिएको छ। चालक लोथ्याल र शान्तिदेवी नेगीको पनि अवस्था चिन्ताजनक छ। उनीहरुको दार्चुला अस्पतालमा उपचार जारी छ। अन्यलाई भने जिल्ला अस्पतालले डिस्चार्ज गरिसकेको जनाएको छ। जिपमा चालकसहित १० जना सवार थिए। चालक बाहेक अन्य ९ जना भारतीय नागरिक हुन्।
बाङ्गाबगरबाट दल्लेखतर्फ जाँदै गरेको जिप व्याक गर्ने क्रममा दुर्घटनामा भएको बताइएको छ।जीप सडकबाट ५० मिटर तल खसेको थियो। भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्न जाँदै थिए।