काठमाडौंः साल्ट टेडिङ कर्पोरेसनको ढुवानी अनुदानमा प्राप्त आयोडिनयुक्त नुन हेलिकोप्टरबाट कर्णालीका विकट गाउँमा झारिएको छ। पैदल मार्ग हुँदै पुर्याउन प्रतिकूल भएपछि सुर्खेतमा रहेको नुन हुम्लाको सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट कैलाश एयरको हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो।
साल्ट ट्रेडिङ सिमकोट शाखा प्रमुख राजबहादुुर लामाले चालु आर्थिक वर्षको दुई हजार दुुई सय क्विन्टल नुन गत फागुन १४ गतेदेखि कैलाशको हेलिकोप्टरमा ओसार्ने कार्य भइरहेको बताए। उनका अनुसार सुर्खेतदेखि पैदल मार्ग हुँदै दुल्लीकुनासम्म पुर्याएर त्यताबाट हेलिकोप्टरमा ढुवानी गरिएको हो।
साल्ट ट्रेडिङको शाखा अन्तर्गतका तीन वटा गाउँपालिकाका लागि उक्त नुनको व्यवस्था गरिएको हो। जसमा खार्पुनाथ गाउँपालिकाका पाँचवटै वडामा हेलिकोप्टरबाट नुन ढुवानी गरिएको छ। ‘प्रत्येक वडामा १५० क्विन्टल नुन हेलिकोप्टरबाट झारिएको छ। यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट खार्पुनाथका स्थानीयले छुटकारा पाएका छन्’, प्रमुख लामाले भने।
उक्त गाउँपालिकाका लागि साढे सात सय क्विन्टल नुन ओसार्ने कार्य भएको र सिमकोटस्थित शाखाका लागि हेलिकोप्टरले ढुवानी गरी रहेको उनले जानकारी दिए । ‘हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ । साथै, बढी परिमाणमा ढुवानी गर्नका लागि हेलिकोप्टरमा झुण्ड्याएर ओसार्ने कार्यसमेत गर्दै आएको छ,’ उनले भने, ‘हेलिकोप्टरभित्र राख्दाभन्दा झुण्ड्याएर ल्याउँदा ५० केजी बढी नुन ढुवानी हुने गरेको छ।’
हुम्ला जिल्लामा आयोडिनयुक्त नुनको प्रतिकेजी नौ रुपैयाँमा बिक्री हुने शाखा प्रमुख राजबहादुर लामाले बताए।