धनगढी : नेकपा एमालेबाट निकालिएपछि गैरकम्युनिष्ट पार्टी खोल्ने तरखरमा रहेको भनिएका डाक्टर भीमबहादुर रावल यतिबेला देश दौडाहामा छन्। कोशी प्रदेशबाट ‘मातृभूमि जागरण अभियान’ शुरु गरेका उनी भोलि गृहप्रदेश सुदूरपश्चिम आउने तयारी छ।
स्रोतका अनुसार रावल भोलि माघ ४ गते बिहान ८:३० बजे धनगढी आउने कार्यक्रम रहेको छ। उनका समर्थक तथा शुभचिन्तकहरूलाई यो अवसरमा सहभागी हुन आग्रह गरिएको छ।
डा. रावलको आगमनले स्थानीय तहमा देशभक्तिप्रति जागरुकता अभिवृद्धि हुने विश्वास गरिएको छ। धनगढीस्थित कार्यक्रम स्थलमा उनलाई स्वागत गर्नका लागि विभिन्न तयारीहरू भइरहेको जनाइएको छ।
उक्त अवसरमा राष्ट्रिय चासोका विषयमा डा. रावलले आफ्ना धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
जस क्रममा नेतृत्वसँग असन्तुष्ट एमालेलगायत विभिन्न पार्टीका नेता-कार्यकर्तासँग रावलको भेटघाट हुने जनाइएको छ। यस अगाडि विपी कांग्रेसका नेता डडेल्धुराका कर्णबहादुर मल्लहरुले रावललाई साथ दिने संकेत गरिसकेका छन्।