काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतलाई उनकै गाउँ गुण्डु पुगेर भेटेका छन्।
आज शाहले बस्नेतलाई भेटेर विगतका असमझदारी टुंग्याएर सहकार्य गर्दै अघि बढ्ने सहमति भएको पनि बताएका छन्। बस्नेतले शाहसँग आगामी दिनमा विकासका एजेन्डामा मिलेर काम गर्दै जाने समझदारी भएको जानकारी दिए।
यस्तै बालेन्द्रले त्यहाँ त्यस क्षेत्रमा भएका विकासका कामको समेत अवलोकन गरेका थिए।
‘अब हामीबीच असमझदारी सकिएको छ’, बस्नेतले भने, ‘असमझदारी हटाएर सहकार्य गरेर जाने कुरा भयो। मेरो गुण्डु घरमा आएपछि सँगै खाना खाएर बिदा गरेँ।’
शाहले त्यसक्रममा सकारात्मक काममा सहयोग र सहकार्य गर्न आफू सदैव तयार रहेको बताएका थिए।
यसअघि २०७८ भदौ १९ मा एमाले सांसद रहेका बस्नेतले काठमाडौँ महानगरका मेयर शाहलाई भक्तपुरको विकास हेरेर सिक्न आग्रह गरेका थिए।
उनले त्यसबेला डोजर चलाएर मेयर शाहले जनतालाई दुःख दिएको आरोप पनि लगाएका थिए।
‘जनतालाई दुःख दिने काम नगरौँ भन्ने मेरो आग्रह हो, गर्नुहुन्छ भने त मेरो के लाग्छ। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमुना बनाएको छु। भक्तपुर गएर सिक्नुस्,’ बस्नेतले रिपोर्टर्स क्लबमा भनेका थिए, ‘नक्सापास नभएको भन्ने आधारमा डोजर चलाउन पाइँदैन।’
नक्सापासको अवधारणा भूकम्पपछि मात्र आएको उनको दाबी थियो। बस्नेतले आफ्नो चुनाव क्षेत्रसहित भक्तपुरमा सडकसहितका पूर्वाधारमा नमूना काम गरेको भन्दै प्रशंसा हुने गरेको छ। यस्तोमा मेयर शाह उनकै घर पुगेर त्यहाँको विकास निर्माणको पनि अवलोकन गरेका हुन्। शाहले गुण्डूको रातोपाटीदेखी अनन्तलिङ्गेश्वर मन्दिर हुँदै, दधिकोटको तर्खगाल हुँदै कैलास डाडाँ भ्यूटावरसम्म दुबैतर्फको पदमार्गलाई निर्माण सम्पन्न गरिएको र कैलाशडाडाँदेखी लाकुरी भन्ज्याङ हुदै रानीकोटसम्मको पदमार्गको स्थलगत निरीक्षण गरेका थिए।
महेश बस्नेत युवाहरुमाझ लोकप्रिय नाम हो। नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालको नेतृत्व गर्दा देखि उनी चर्चामा आएका हुन्।