हरेक वर्ष फागु पूर्णिमादेखि लाग्ने पूर्णागिरि मेला सुरु भएको छ। मेला सुरुवातसँगै सीमान्त बजार ब्रम्हदेवमा चहलपहल बढेको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बिहीबार औपचारिक रूपमा सो मेलाको शुभारम्भ गरे।
उनले मेला शुभारम्भसँगै महाकाली नदीमा -याप्टिङसमेत गरेका थिए।
पूर्णिमाअघिदेखि नै महेन्द्रनगर र ब्रम्हदेवमा दर्शनार्थीको चहलपहल बढ्न थालेको थियो। औपचारिक रूपमा मेलाको उद्घाटन भइसकेपछि अब भीडभाड बढ्ने व्यवसायीहरू बताउँछन।
भारत उत्तराखण्डको चम्पावतअन्तर्गत टनकपुर उत्तरतिर चुरेको डाँडामा पूर्णागिरि माताको मन्दिर छ। ठीक वारि नेपालतर्फ खल्ला, ब्रम्हदेव र महेन्द्रनगरमा सिद्धबाबाको मन्दिर छ।
पूर्णागिरिको दर्शन गरेपछि सिद्धबाबाको अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक विश्वास छ। किंवदन्तीअनुसार सिद्धबाबा पूर्णागिरिका भक्त थिए। उनको भक्तिबाट प्रशन्न भई पूर्णागिरिले आफ्नो र सिद्धबाबाको दर्शन अनिवार्य गर्नुपर्ने र तब मात्रै मनोकांक्षा पूरा हुने वरदान दिएका कारण यो परम्परा चलेको विश्वास छ। पूर्णागिरि मेलामा आउने अधिकांश दर्शनार्थी भारतीय हुन्छन।
भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँगै दिल्लीलगायत क्षेत्रबाट ठुलो संख्यामा दर्शनार्थी आउने गरेका छन। नेपालबाट पनि कञ्चनपुरसँगै कैलाली, बर्दिया, बाँकेलगायतका क्षेत्रबाट ठुलो संख्यामा दर्शनार्थी जाने गरेका छन।
पूर्णागिरि मेला अवधिमा ब्रम्हदेव र महेन्द्रनगर बजारमा ठूलो भीड लाग्ने गरेको छ। कोरोना संक्रमणपछि सुस्ताएको बजार व्यवसायले पनि यही अवधिमा गति लिने व्यवसायीहरूको अपेक्षा छ।