काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यही चैत ३ गते हुन लागेको उपराष्ट्रपति पदमा उम्मेदवारी दिने भएकी छन् । सिंहदरबारमा शुक्रबार बसेको उन्मुक्ति संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उन्मुक्तिका सांसद गंगाराम चौधरीले अध्यक्षलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने निर्णय भएको जानकारी सञ्चारकर्मीलाई दिएका छन् । पार्टी अध्यक्षलाई उपराष्ट्रपतिमा अघि सार्ने निर्णय भएको बताउँदै अब यसलाई लिएर राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धनमा छलफल गरिने पनि चौधरीले बताएका छन् ।
बिहीबार राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । यस्तोमा उपरारष्ट्रपति पदमा फरक समुदाय वा लिङ्गको व्यक्ति चाहिने आवाज उठिरहेको छ । निर्वाचन आयोगलेसमेत महिलालाई उपराष्ट्रपतिमा अघि सार्न दलहरुलाई सुझाएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र नेतृत्वको आठ दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा जनता समाजवादी संसदीय दलका नेता रामसहायप्रसाद यादव उठ्ने चर्चा थियो।
उनलाई गठबन्धनको उम्मेदवार भन्दै बिहीबार राष्ट्रपतिको निर्वाचनका क्रममा सेल्फी र फोटो लिने सांसदहरुको भिड नै लागेको थियो । तर शुक्रबार मात्रै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपतिको उम्मेदवारबारे गठबन्धनले अहिलेसम्म निर्णय गरिनसकेको बताएका छन्।
त्यस्तै माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि उपराष्ट्रपतिबारे कुनै निर्णय नभएको बताए । बालुवाटारमा माओवादी धारका नेताहरुको बैठकपछि बोल्दै उनले उपराष्ट्रपति फरक समुदाय र लिङ्गको हुनुपर्ने आफूहरुको धारणा रहेको बताएका छन् ।