काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले शुक्रबार उपराष्ट्रपतिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गर्यो।
सत्ता गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी जसपाले उपराष्ट्रपति पाउने सहमति भएको चर्चा भए पनि गठबन्धन भित्रैको उन्मुक्तिले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। तर उन्मुक्तिले कच्चा निर्णय गरेको छ।
उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि आवश्यक योग्यतामध्ये एक उमेर ४५ वर्ष पूरा भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ। तर निर्वाचन आयोगका अनुसार उनको उमेर बल्ल ४० वर्ष पुगेको छ।
आयोगमा उपलब्ध विवरण अनुसार श्रेष्ठ वि.सं.२०३९ सालमा जन्मिएकी हुन्।
शुक्रबार विहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिएका थिए।
जसपाले बारा २ बाट प्रतिनिसधभामा निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।