काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादव आफूहरूको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन् ।
एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा.यादवलाई आफूहरूको प्रस्तावमा नै निर्वाचित गराएको बताए । उनले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताए ।
यस्तै सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रमा विश्वास गर्नेहरूले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले यसबारे सोच्न जरुरी छ ।’
एमालेले आज बिहान एमालेले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । शाक्यको प्रस्तावकमा अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरू छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ छन् । त्यस्तै, समर्थनमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन् ।