काठमाण्डाै – देशभरकै मौसम बिहानैदेखि बदली भएको छ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
काठमाण्डौसहित धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । तराईका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको अनुमान गरिएको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो ।
पछिल्लो २४ घण्टामा लमजुङमा सबैभन्दा धेरै वर्षा भएको छ । लमजुङमा ५० मिलिमिटर वर्षा भएको मापन गरिएको छ । मौसमविद् समिर श्रेष्ठले पर्सिसम्मकै मौसम यस्तै रहने बताउनुभयो । पश्चिमी वायुको प्रभाव पर्सिसम्म नै रहने देखिएकाले मौसम बदली हुने र पानी पर्ने क्रम पर्सिसम्म नै चल्ने उहाँले जानकारी दिनुभयो ।
यसपालिको हिउँदयाममा खासै पानी पर्न सकेन । हिउँद सुक्खा भए पनि प्रि-मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेको छ । यसले गर्दा प्रदूषण कम हुन र खेतीपातीका लागि केही राहत मिलेको छ । तर, यो समयमा असिना समेत पर्ने भएकाले कतिपय ठाउँमा भने तरकारी र फलफूल खेतीमा असर पर्न सक्छ ।