नेपालको कपिलवस्थु तिलारौकोट दरवारमा पुरातात्विक महत्त्वका बौद्धविहार, कंथक चैत्य, डेढ फिट अग्लो गजुर र पानी ट्याङ्की लगायतका ऐतिहासिक सामग्रीहरू भेटिएको छ।
सिद्धार्थ गौतमको बाल्य र युवा काल व्यतित भएको तिलारौकोट दरवारक्षेत्रमा भइरहेको पुरातात्विक उत्खनन् कार्यमा यी महत्वपूर्ण सामग्रीहरू फेला परेको हो। सिद्धार्थ गौतम ‘महाभिनिष्क्रम’ (गृहत्याग) गरी कंथक नामक घोडा चढी बाहिर निस्कँदा दरवारको पूर्वी ढोकाबाट निस्कनु भएको थियो।
पछि सिद्धार्थलाई वनमा छोडी घोडा एक्लै फर्केर दरवारको पूर्वी ढोकामै प्राणत्याग गरेको थियो। पछि घोडाको नाममा ढोकाको बाहिर कंथक चैत्य निर्माण गरिएको थियो। भेटिएको गजुर सोही चैत्यको अवशेष हुनसक्ने अनुमान गरिएको छ। सातौं शताब्दीमा लुम्बिनी आएका प्रसिद्ध चिनियाँ यात्री बौद्ध भिक्षु हुयान साङको यात्रा वृत्तान्तमा पनि उक्त चैत्य र विहारहरूका बारेमा वर्णन गरिएको छ।
सोही यात्रा वृत्तान्तका आधारमा सो ठाउँमा युनेस्को जापानीज फन्ड इन ट्रष्ट (जेएफआईटी) परियोजनाको चौथो चरणमा बेलायतको दूरहाम विश्व विद्यालय, नेपालको पुरातत्व विभाग र लुम्बिनी विकास कोष मिली अहिले पुरातात्विक उत्खनन् भइरहेको हो। (फोटो : लुम्बिनी विकास कोष)