काठमाडौं – वर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिवसीय राष्ट्रिय सम्मेलन पाँच बुँदे काठमाडौंँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । विश्व पानी दिवसको अवसरमा खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स प्रालि र वाटर एड नेपालको अगुवाइमा विभिन्न सरकारी र गैरसरकारी संस्थाको सहयोगमा यही चैत ५ र ६ गते ‘वर्षातको पानी सङ्कलन पानी सुरक्षण र जलवायु परिवर्तनका असरको सम्बोधन’ विषय सम्मेलन आयोजना गरिएको थियो ।
घोषणापत्रमा पानी सङ्कट न्यूनीकरण गर्ने समान उद्देश्य भएका संस्थाको सञ्जल निर्माण गर्ने, एकीकृत पानी व्यवस्थापनसम्बन्धी कानुन निर्माण गर्न तीनै तहका सरकारलाई अनुरोध गर्ने, पानी सङ्कट समाधानका लागि नयाँ प्रविधिको अवलम्बन र खोजी गर्ने, वर्षातको पानी व्यवस्थापनमा सामूहिक प्रयास गर्ने तथा पानी व्यवस्थापनका प्रयासमा जलवायु परिवर्तनको पक्षलाई ध्यान दिने विषय समेटिएका छन् ।
यसैगरी नेपालमा पानीको सङ्कट न्यूनीकरण गर्ने उपाय खोजीका लागि खानेपानी मन्त्रालयसँग समन्वय गरी सामूहिक प्रयासमा आवश्यक पहलको थालनी गर्न चार महिनाभित्र वर्षातको पानी सङ्कलन र व्यवस्थापन कार्यलाई अन्तरसम्बन्ध (नेक्सस) सोचका साथ अघि बढाउने उद्देश्यका साथ बहुपक्षीय सरोकार संस्थाको एक विशेष सञ्जाल (एलाएन्स) निर्माण गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ ।
सम्मेलनले वर्षातको पानीको सङ्कलन र व्यवस्थापनलाई वर्षाको समयमा नेपालले भोग्नुपरेको बाढीपहिरो, पानीजन्य विपद् र हिँउदमा पर्ने चरम सङ्कटलाई निवारण गर्ने एक दिगो र सर्वसुलभ उपाय भएको ठहर गरेको छ । यस क्षेत्रलाई प्रोत्साहित र कार्यान्वयनमुखी बनाउन वर्षातको पानीको सङ्कलन र व्यवस्थापन अपरिहार्य भएको उल्लेख गर्दै सम्मेलनले परिणाममुखी उद्देश्य प्राप्तिको लागि वर्षातको पानीको सङ्कलनका प्रयास र कार्यक्रमलाई सङ्ख्यात्मक र गुणात्मक वृद्धिमा तीव्रता ल्याउन वर्तमान अभ्यासलाई परिष्कृत गरी आवासस्तर, समुदायस्तर, संस्थागत पु¥याउनुपर्ने निष्कर्ष निकालेको छ ।