बागलुङ – आजदेखि नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादसैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ ।
असोजमा पर्ने नवरात्रमा जस्तै चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइने गरिन्छ । चैतेदशैँका अवसरमा कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरू मन्दिरमा पुग्ने गर्छन् ।
गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रूपमा रहेको बागलुङ कालिका मन्दिर दर्शन गर्दा मनले आँटेका सबै कुरा पूरा हुन्छ भन्ने विश्वासका साथ मन्दिर दर्शनार्थी आउने गरेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
‘बागलुङ भगवतीमा विशेष शक्ति छ भन्ने मान्यताले भक्तजन यहाँ आउँछन्’ खड्काले भने, ‘गुठीले नवरात्रमा मन्दिर आउने भक्तजनको सहजताका लागि आवश्यक व्यवस्थापन गर्छ ।’
नवरात्रको अघिल्लो दिन मङ्गलबार मन्दिर परिसर सरसफाइ गरिएको छ । परिसरमा रहेका सत्तल, मठ र अन्य स–साना मन्दिरहरूसमेत चिटिक्क पारिएको छ । नवरात्रको समयमा हुने भिड र पूजा व्यवस्थापनका लागि गुठीका कर्मचारी परिचालन गरिने खड्काले बताए । सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरीको सहायता लिइने उहाँले जानकारी दिए।