काठमाण्डाै – आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । आज पानी पर्ने खासै सम्भावना छैन । तर स्थानीय वायु सक्रिय भए बेलुकीपख पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्न सक्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
पानी पर्ने सम्भावना कमै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ । अन्य क्षेत्रमा मौसम सामान्यतया सफा नै रहने छ । प्रि-मनसुनको समय भएकाले दिउँसो पछि मेघगर्जन र चट्याङसहित हावाहुरीको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
विशेषगरी कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङ पर्ने अनुमान छ । यस्तै, अन्य प्रदेशका केही पहाडी र तराईका एक/दुई ठाउँमा पनि चट्याङ र हावाहुरीको जोखिम रहेको मौसमविद्ले बताएका छन् । अहिले काठमाण्डाैसहित धेरै ठाउँमा घाम लागेको छ ।