जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ।बिरामी र महिला स्वास्थ्य स्वयंसेविकाबीचको सूचना प्रवाहमा सहजता ल्याउने उद्देश्यले मोबाइल वितरण गरेको हो।
जिल्लाको ग्रामीण भेगमा मातृ शिशु मृत्युदर कम गर्न गर्भवती महिलाको सुरक्षित स्वास्थ्य जाँच गरी सुरक्षित सुत्केरी बनाउने तातोपानी गाउँपालिको उद्देश्य रहेको अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । गर्भवती महिलाको गर्भ जाँचमा थप टेवा पुर्याउनका लागि मातृ स्वास्थ्य सुरक्षा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रम प्रभावकारी देखिएकाले वितरण गरेको अध्यक्ष चौलागाईले बताए।
आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविका संलग्न रहेको कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाले आफ्नो वडा तथा टोलमा रहेका गर्भवतीको मोबाइलमार्फत स्वास्थ्य जाँचमा सहयोग गर्ने छन्।स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले सूचना प्रभावकारी गर्नका लागि सादा मोबाइल सेट वितरण गरिएको बताए।
उनका अनुसार गाउँपालिका भित्र ८ वडा छन्। १ देखि ८ का ६७ जना महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइल लिइएका छन्। स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा सूचना आदान-प्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकालेर दिइएको छ।
स्वयंसेविका काली शाहीले गाउँपालिकाले यो सेवा उपलब्ध गरिएकोले सूचना प्रवाहमा सहज हुने बताइन् । मासिक ५ सय खाना, खाजा, यातायातका लागि सहयोग गर्दै आएको र सङ्घीय सरकारले बर्सेनि पोसाकसहित २२ हजार उपलब्ध गराउँदै आएको तातोपानी गाउँपालिका जुम्लाले जनाएको छ ।