काठमाडौं – धामीझाँक्रीको उपचारमा भर पर्दा कैलालीमा एक गर्भवती महिलाको ज्यान गएको छ । जिल्लाको गोदावरी नगरपालिका–८, स्याउलेकी २२ वर्षीया कल्पना विकको धामीझाँक्रीको भरमा पर्दा ज्यान गएको हो ।
घरनजिकै अस्पताल भए पनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो। ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगरपालिकाको बनबेहडास्थित अर्को धामीको घरमा लगिएको थियो। ती धाँमीले पनि कल्पनालाई निको पार्न सकेनन्।त्यसपछि मात्र गर्भवती कल्पनालाई सेती प्रादेशिक अस्पताल लगिएको थियो।
नियमित स्वास्थ्य जाँच गर्दै आएकी कल्पना अन्तिम जाँच गर्ने बेला बिरामी भएकी थिइन् । उनलाई अस्पताल पु-याउन ढिलो भएकाले गर्भावस्थाको शिशुको मृत्यु भएको थियो। कल्पनाको अन्तिम जाँच फागुन ४ गते थियो तर उनि ३ गते बिहानै बिमारी भएकी थिइन् । कल्पनालाई १७ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो तर उनको ज्यान बचेन। उनको फागुन २० गते मृत्यु भएको कल्पनाको उपचारमा संलग्न डा. खगेन्द्र भट्टले बताए । उनले समयमै अस्पतालमा ल्याइएको भए कल्पना र गर्भको शिशुलाई बचाउन सकिने सम्भावना रहेको बताए ।
मृतकका श्रीमान् राजेश रोजगारीको शिलशिलामा भारतमा थिए । श्रीमती बिरामी भएको खबर पाएपछि गत ७ फागुुुनमा घर पुगेका थिए । गत वैशाखमा मात्र विवाह भएको थियो । लामो समय आइसियुमा राखेर उपचार गर्दा तीन लाख रुपैयाँ खर्च भएको राजेशले बताए । उपचार खर्च तिर्नका लागि २५ हजार रुपैयाँ गाउँबाट चन्दा उठेको र बाँकी रकम ऋण लिएर तिरेको उनले बताए ।