धनगढी – धनगढीका पत्रकार टेकसिंह धामीलाई टाउकाे फुटाइदिने धम्की दिने नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थी थुनामुक्त भएका छन् ।
शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार महासंघका प्रदेश अध्यक्ष याेगेश रावल, जिल्ला अध्यक्ष हिमालय जाेशीसमेतका पत्रकार र नेवि संघका अध्यक्ष मनिष कुँवरसहितका नेताहरूकाे छलफलमा अवस्थीले गल्ति गरेकाे भन्दै माफी मागेपछि थुनामुक्त भएका छन् ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार पत्रकार महासंघ कैलालीका अध्यक्ष जाेशीकाे रहाेबरमा लिखित रूपमा समेत अवस्थीले माफी माग्दै उप्रान्त धाक, धम्की तथा पत्रकार धामीलाई क्षति कुनै गतिविधि नगर्ने प्रतिबद्वता जनाएका छन् ।
धामी सम्पादक रहेको महेन्द्रनगर पाेष्टमा कैलाली बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई नेवि संघकाे धम्की सम्बन्धि प्रकाशित समाचारलाई लिएर अवस्थीले धम्की दिएका थिए । जिल्ला प्रहरी कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेकाे बताएपनि धामीलाई खबर नगरेर हाजिरी जमानीमा छाडेकाे थियाे ।
पत्रकार महासंघकाे नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेर शनिबार बिहान एसपी देवेन्द्र पाललाई भेट्दै पत्रकारहरूले धम्की दिने व्यक्तिलाई उन्मुक्ति दिन खाेजेकाे भन्दै विराेध जनाएपछि अवस्थीलाई पुन: थुनामा राखिएको थियाे ।
नेवि संघका अध्यक्ष कुँवरसहितका नेताले अवस्थीले गल्ती गरेकाे र अबदेखि पत्रकारमाथि दुर्व्यवहार नगर्ने भन्दै छलफलका आग्रह गरेपछि साँझ विद्यार्थी नेता र पत्रकारहरू छलफलमा जुटेका थिए ।