काठमाण्डौ – रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पहिरोको ज्योखिम क्षेत्रमा रहेका घरहरुको बीमा गर्ने भएको छ ।
उपमहानगरपालिकाको विपद् ब्यवस्थापन समितिको बैठकले जोखिम क्षेत्रमा रहेका घरहरुको पहिचान गर्ने र बीमा गर्ने निणर्य गरेको हो ।
बुटवलको मिलनपथ, ज्योतिनगर र पाखापानी क्षेत्रमा रहेका रहेका घरहरुको तथ्याङ्क संकलन गरेर बीमा गर्ने योजना बनाएको उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले जानकारी दिनुभयो । सम्बन्धित वडा कार्यालय र टोल विकास संस्थाहरुको रोहबरमा जोखिम क्षेत्रका घरहरुको पहिचान, छानविन र तथ्याङ्क संकलन हुने बताउनुभयो ।
उहाँका अनुसार पहिरो प्रभावित क्षेत्रमा अहिले ग्याबिन लगाउने काम भईरहेको छ । विपद व्यवस्थापन समितिको बैठकले मिलनपथको लागि ५० लाख, ज्योतिनगरको लागि ३५ लाख, पाखापानीको लागि ७ लाख बजेट छुट्टाएर तत्काल बाँध निर्माण र खोल्सी सरसफाईको काम सुरु गर्ने निणर्य गरिएको पाण्डेयले जानकारी दिनुभयो ।
प्रभावित क्षेत्रको लागि प्रयाप्त बजेट नभएपनि केन्द्र र प्रदेशको बन मन्त्रालयबाट समन्वयन गरी खोल्सी सरसफाईसँगै विपद् ब्यवस्थापनको काम सुरु गरिएको मेयर पाण्डेयले जानकारी दिनुभयो । यस्तै, तिनाउ दानब नदी जोखिम क्षेत्रमा जनताको तटबन्धन कार्यक्रमबाट तटबन्धनको कामलाई तिव्रता दिने निणर्य विपद् व्यवस्थापन समितिको बैठकले गरेको छ ।