काठमाडौं – निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई २ करोड मतपत्र छपाई गर्न दिने निर्णय गरेको छ । आयोगले मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार यही चैत १४ गतेदेखि मतपत्र छपाई सुरु गर्ने आयोगको तयारी छ । आसन्न स्थानीय तहको चुनावका लागि २ करोड मतपत्र छापिनेछ । मतपत्र छाप्नका लागि ११ करोड रुपैयाँको कागज किनिसकिएको र कागज धमाधम आउने क्रम जारी रहेको पनि प्रवक्ता पौडेलले जानकारी दिए ।
‘सात सय मेट्रिक टन कागजमध्ये साढे तीन सय मेट्रिक टन जफत आइसक्यो । अबको एक दुई दिनमा सबै कागज आइसक्छ’ पौडेलले भने । कागज जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमै स्टोरेज गरिएको छ ।
केन्द्रलाई आगामी बैशाख २० गतेसम्म मतपत्र छपाइको काम सक्न निर्देशन दिइएको छ । हिमाली तथा दुर्गम जिल्लाका लागि अलि अगाडि नै मतपत्र छापेर ति क्षेत्रमा पुर्याइने र सुगम क्षेत्रमा पुऱ्याउनका अलि पछि छापिने उनले बताए ।