काठमाडौँ- नेपाली कांग्रेसले सरकारमा पठाउने ८ जना मन्त्रीको नाम करिब टुंग्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारसम्म मन्त्रिपरिषद विस्तार गर्न तयारी थालेपछि कांग्रेसले पनि मन्त्रीको नाम करिब–करिब टुङ्गो लगाएको हो ।
सोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेसले ८, माओवादीले ५, जसपाले २, एकीकृत समाजवादीले २, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले १–१ मन्त्रालय पाउने गरी प्रस्ताव राखेका थिए । बाँकी एक मन्त्रालय स्वतन्त्र सांसदका लागि छुट्याउने प्रधानमन्त्रीको प्रस्ताव छ ।
तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्तीमा ३ मन्त्रालयको अडान छाडेका छैनन् । आफ्नो पार्टीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतका कुनै पनि पद नपाएका भन्दै तीन मन्त्रालयमा एकीकृत समाजवादीको सशक्त दाबी छ । प्रधानमन्त्री प्रचण्डले देउवालाई कांग्रेसले पाउने सक्ने आठ वटा मन्त्रालय पनि सुनाएका थिए ।
कांग्रेसका एक पदाधिकारीका अनुसार अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, उद्योग वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय कांग्रेसले पाउने सम्भावना छ । तर सभापति देउवाले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमध्ये एउटामा दाबी राखेका छन् ।
माओवादी केन्द्रले गृह मन्त्रालय पाउने भएपछि देउवाको मुख्य ध्यान भौतिकमा छ । केन्द्रीय कार्यसम्पादन समिति बैठक रोकेर सभापति देउवा मन्त्रीको टुङ्गो लगाउन जुटेका हुन् । उनले सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए । आठ मन्त्रालय मध्ये ६ वटामा आफ्नो समूहभित्रबाट मन्त्री बनाउने देउवाको तयारी छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारको सहभागी हुने छ ।