विराटनगर- कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप भएको छ । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानका आधारमा नामकरण गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावग्रस्त बनेको छ ।
पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।
मंगलबार प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो । त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । प्रदर्शनमा उनीहरूले प्रहरीमाथि ढुङ्गा मुढा समेत गरेका छन्। प्रहरीविरुद्ध ढुङ्गा मुढा हुन थालेपछि १२ राउण्ड हवाई फायर भएको छ। प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको छ।
उक्त आन्दोलनमा ५ जना सुरक्षाकर्मी घाइते भएका छन् । नेपाल प्रहरीका ३ र सशस्त्रका दुई जना घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीले ३१ राउण्ड अश्रुग्यास र १५ राउण्ड हवाईफायर गरेको छ ।
उनीहरूले कोशी प्रदेश मान्दैनौँ, हत्या हिंसा बन्द गर, लाजेहाङ अमर रहुन्, मुख्यमन्त्री हिक्मत कार्की मुर्दावाद, इन्द्रबहादुर आङबो औँला काट र पहिचानवादी एक हौँ लगायतका नारा घन्काइरहेका छन्।
प्रदर्शन स्थलमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।