धनगढी: राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर अध्यक्षमा अभिसेक नाथ(लोक) सर्वसम्मत चयन भएका छन्। मंगलबार सम्पन्न राष्ट्रिय युवा संघको नगर अधिवेशनबाट सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको नगर अध्यक्षमा नाथ सर्वसम्मत भएका हुन्।
उनी यसअघि युवा संघको नगर संयोजक थिए। अन्य पदाधिकारी र सदस्यहरु समेत सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा रुद्र आग्री, सचिवमा रामबहादुर सिंह, कोषाध्यक्षमा श्रीया सिंह, उपसचिवमा संजय चापागाई र आयुश ओली चयन भएका छन्।
अधिवेशनबाट कार्य समितिका ३७ जना सदस्य समेत सर्वसम्मत चयन गरेको छ। १० प्रतिशत सदस्यलाई भने बैठकबाट मनोनित गर्ने जनाइएको छ। पदाधिकारी तथा सदस्यहरुले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवंम् कैलाली इन्चार्ज अरुण कुँवरले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहणपछि नवनिर्वाचित कार्यसमितिलाई सम्बोधन गर्दै अध्यक्ष नाथले सबैलाई धन्यवाद दिएका छन्।
उनले राष्ट्रिय युवा संघ पार्टीको सेना जस्तै भएको बताउदै जुनसुकै बेला पनि पार्टीको पक्षमा उभिएर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्। ‘राष्ट्रिय युवा संघ भनेको पार्टीको सेना जस्तै हो। सेना भन्दैमा लडाइँ, झगडा गर्ने अर्थमा बुझ्नु हुँदैन,’ नाथले भने, ‘पार्टीलाई उपमहानगरपालिकाभित्र अप्ठ्यारो पर्दा युवा संघ जहिल्यै पनि अगाडि बढ्नेछ। सबैको साथ, सहयोग र सल्लाहअनुसार नै अघि बढ्नेछौँ।’
राष्ट्रिय युवा संघ नेपालको धनगढी नगरकमिटीले विगतदेखि नै सडक संघर्ष, कोभिडका बेला विभिन्न अभियान संचालन, मूल्य वृद्धि घटाउन आन्दोलन तथा
धनगढीका विभिन्न क्लबलाई खेलकुदका सामग्रीको सहयोग एवं सामाजिक गतिविधि गर्दै आएको छ।