काठमाडौँ – बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
मन्त्रालय भागबन्डाका विषयमा छलफल गर्न सत्तारुढ १० दलको बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।
बैठकमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सिके राउत, प्रभु साह, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डलाई संसदमा विश्वासको मत दिएर समर्थन गरेको १० दलसहितको गठबन्धनमा मन्त्रालयको भागबण्डा नमिल्दा सरकार विस्तारमा ढिलाई भइरहेको छ ।
चैत ६ गते संसदबाट दोस्रो पटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले ३-४ दिनमै सरकार विस्तार गर्ने बताएका थिए । तर गठबन्धनमा भागबण्डा नमिल्दा मन्त्रीपरिषद् विस्तार विषय लम्बिएको हो ।
एउटै मन्त्रालयमा धेरै दलहरूको दाबी र धेरै मन्त्रालय पाउनुपर्ने दलहरूको अडानका कारण प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तारमा सकस परेको छ ।