दार्चुला – दार्चुलामा कोमलप्रशाद आर्चाय मुख्य निर्वाचन अधिकृत तोकिनु भएको छ । निर्वाचन आयोगले जिल्ला अदालत दार्चुलाका न्यायधीस आचार्यलाई वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो ।
जिल्लाको अपि हिमाल गाउँपालिकामा खेम राज खत्रीलाई निर्वाचन अधिकृत तोकिएको छ । यस्तै जिल्लाको दुहुँ गाउँपालिकामा बुद्धिलाल श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको छ ।
नौगाड गाउँपालिकामा लक्ष्मण देबकोटा व्यासँ गाउँपालिकामा कोशलेश्वर ज्ञवाली मार्मा गाउँपालिकामा देबेन्द्र बहादुर मल्ललाई निर्वाचन अधिकृत तोकिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रदिप सिह धामीले जानकारी दिनु भएको छ ।
यस्तै मालिकार्जुन गाउँपालिकामा ओम प्रसाद भट्टराई लेकम गाउँपालिकामा धर्मराज रोकाया तथा शैल्यशिखर नगरपालिकामा हरिसिह धामीलाइ निर्वाचन अधिकृत तोकिएको निर्वाचन कार्यालय प्रमुख धामीले जानकारी दिए ।
२०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ। निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ ।
निर्वाचन कार्यक्रम अनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो।