धनगढी : कैलालीको गौरिगङ्गामा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटीमा विवाद देखिएको छ। कैलालीका अन्य सबै नगरहरुमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएपनी गौरिगङ्गामा भने अहिलेसम्म अधिवेशन हुन सकेको छैन।
स्रोतका अनुसार त्यहाँ राष्ट्रिय युवा संघका जिल्लाका इन्चार्ज र संयोजकको हस्तक्षेप र गुटगत गतिविधिका कारण विवाद देखिएको हो। सोही विवादका कारण त्यहाँ २ कमिटी समेत बनेका छन्। कृष्ण रिमाल र सागर बिकको नेतृत्वमा अलग-अलग कमिटी बनेका हुन्।
आफ्नो नेतृत्वमा २६ सदस्यीय कमिटी बनेको र सोही कमिटी आधिकारिक भएको सागरको दाबी छ। उनी गौरिगङ्गा नगरको पूर्व संयोजक महेन्द्र भण्डारीले राजीनामा दिएपछि कार्यवाहक संयोजक भएर काम समेत गर्दै आएका थिए। महेन्द्रले करीव १ वर्षअघि नै पदबाट राजीनामा दिएका थिए।
तर, अहिले उनले आफ्नो निकटको मान्छेलाई संयोजक बनाउन खोजेपछि विवाद भएको बताइएको छ। जिल्ला अधिवेशनका लागि पनि सागर नेतृत्वको टिमलाई नसमेटेर प्रतिनिधि पठाइएको आरोप लागेको छ। यता राष्ट्रिय युवा संघ नेपालको प्रदेश कमिटीले भने सहमतिमा नेतृत्व चयनका लागि निर्देशन दिएको छ।