धनगढी – कञ्चनपुरको दोधाराचाँदनीमा सशस्त्र प्रहरीले विपद् नियन्त्रणका लागि पूर्व तयारी अभियान थालेको छ।जिल्लाको दोधाराचाँदनी नगरपालिकास्थित सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म देवीस्थान र एनएनएसडब्लुएको संयुक्त आयोजनामा आज (शनिवार) उक्त कार्यक्रम थालिएको हो।
दोधाराचाँदनी नगरपालिकाको वडा नम्बर १० कुतियाकभरस्थित जोगबुडा नदीमा विपदको पूर्व तयारी, प्रतिकार्य अभिमुखीकरण तथा कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको हो।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुबाट स्थानीय श्रोत साधनको प्रयोग गरी पानीजन्य विपदबाट बच्न साधनहरुको निर्माण तथा डेमोट्रेसन र मोटरबोर्डबाट उद्धार अभ्याससमेत संचालन गरिएको थियो।
उक्त कार्यक्रम दोधाराचाँदनीका नगरप्रमुख किशोर कुमार लिम्बु प्रमुख अतिथि थिए। यस्तै उक्त कार्यक्रममा दोधाराचाँदनी नगरपालिका नगर उपप्रमुख, स.प्र.बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्मका गुल्मपति, नगरपालिका प्रशासकिय अधिकृत, नेपाल प्रहरी, एनएनएसडब्लुएका कर्मचारी, जनप्रतिनिधि, पत्रकारहरुको समेत सहभागिता थियो।
दोधाराचाँदनी विपदबाट बढी जोखिमयुक्त क्षेत्र भएकोले विपदबाट हुनसक्ने क्षति न्युनिकरण गर्न यस्ता पूर्व अभ्यासले मद्धत पुग्ने नगर प्रमुख लिम्बुले बताए।