काठमाडौं – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि देशकै मुख्य प्रशासनिक थलो सिंहदरबारको फोहोर उठाउने काम बन्द भएको छ ।
मेयर शाहले हिजो शनिवार फेसबुकमा स्टाटस लेखेर सङ्घीय सरकारले सहयोग नगरेको भन्दै अब सिंहदरबारकै फोहोर नउठाउने घोषणा गरेका थिऐ । हिजोदेखि सिंहदरबारको फोहोर नउठ्दा ठाउँ–ठाउँमा फोहोरका थुप्रा देखिन थालेका छन् ।
सिंहदरबारको फोहोर उठाउँदै आएको परिवर्तन नेपाल नामक संस्थाले मेयर शाहको निर्देशनका कारण फोहोर उठाउन बन्द गरिएको जानकारी दिएको छ । सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठाउने गरे पनि हिजो र आज उठाउने काम बन्द भएको कम्पनीले जनाएको छ ।
सिंहदरबार रहेको काठमाण्डौ महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकारले अहिले सिंहदरबारभित्रको फोहोर नउठाएको बताए । उनले सिंहदरबारबाहेक वडाको सबैतिरको फोहोर उठेको तर सिंहदरबारमा विशेष कारणवश मेयर शाहको निर्देशनमा रोकिएको भन्ने जानकारी पाएको जानकारी दिए ।