मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेशमा आफूले सम्हालेका आठमध्ये दुई वटा मन्त्रालयमा दुई जना मन्त्रीलाई नियुक्त गरेर मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा गएको हो । लामा आर्थिक मामिला तथा योजनामन्त्री र काभ्रेका कांग्रेस सांसद तीर्थ लामा खानेपानी ऊर्जा तथा सिँचाइमन्त्रीका रूपमा नियुक्त भएको हो । दुवै जना मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् ।
अरू बाँकी मन्त्रीको सल्लाह पनि गर्दै गर्ने र आज भने आफूसहित दुई जना सरकारमा गएको कांग्रेस संसदीय दलका नेता लामाले बताए। एकीकृत समाजवादीका तर्फबाट पनि आज मन्त्री बनाउने तयारी भए पनि पार्टीबाट मन्त्री बन्नेको नाम प्राप्त नभएको उनले बताए।
प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिनुएको १६ दिनपछि आज बल्ल दुई जना मन्त्री नियुक्त गरेका हुन् । अझै मुख्यमन्त्रीले अरू पाँच वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । कांग्रेससहितका दलहरूले मन्त्री बन्नेहरूको नामावली नपठाउँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।