काठमाडौंं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले अघि सारेका विकास पूर्वाधार पूर्ण बन्दै गएकाले विरोधीहरूलाई छटपटाएको बताएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिwकाले शंकरनगर वन वाटिकामा निर्माण भएको बहुउद्देश्यीय भ्यु टावरको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारको विकास देखेर विरोधीहरूलाई छटपटाहट भएको बताएका हुन् ।
‘‘एमालेको सरकार बन्दैनथ्यो भने भ्यूटावर राख्ने सोंच आउँदैनथ्यो, यत्तिको विकास गर्ने सोंच आउने थिएन,’ उनले भने, ‘विकास गर्नुपर्छ हाम्रै पालामा हुनसक्छ भनेर अभियान अघि सारेका छौं, यसले देशको विकासको चिन्तनमै फरक ल्याएको छ, ओलीले भने ।
ओलीले गठबन्धन सरकारले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर भूमिहीनलाई अलपत्र पारेको समेत आरोप लगाएका छन् ।
आफ्नो नेतृत्वको सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न ठिक्क पारेका बेला सरकारनै परिवर्तन भएको दाबी गरे । आफूपछिको परमादेशका आधारमा बनेको गठबन्धन सरकारले आयोगनै खारेज गरेर भूमिहीनलाई बेघरबार बनाएको ओलीको भनाइ छ । उनले गठबन्धन सरकारले अनेक बहाना खोज्न अघिल्लो सरकारमाथि भूमिहीनको फाइल लुकाएको आरोप लगाएको पनि दाबी गरे । ‘आयोग खारेज गरेर पुर्जा वितरणको लागि मैंले ठिक्क पारेको फाइल यो सरकारले लुकाएको छ,’ उनले भने । एमाले अध्यक्ष ओलीले लुकाइएको फाइल खोज्न प्रधानमन्त्री देउवा दिल्ली जान लागेको टिप्पणी पनि गरेका छन् ।
तिलोत्तमा नगरपालिकाले सुरू गरेको जमिन खेर नफाल्ने नीतिको प्रशंसा गर्दै उनले भने, ‘कृषि उत्पादन र आत्मनिर्भरमा तपाईहरुले गरेको काम उत्कृष्ट लागेको छ, अब आयात रोक्ने गरी योजना बनाउनुस् । खाद्यान्नमा आत्मनिर्भर भए समृद्धिका मुख्य आधार हुन् जुन तिलोत्तमाले सुरू गरेको छ ।’