काठमाडौँ – विभिन्न प्रलोभनमा पारी युवा युवतीलाई ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।
आकर्षक आमदानीको प्रलोभनमा युवायुवतीलाई ठगी गरेको आरोपमा काठमाडौँको चाबहिल गंगाहिटी स्थित भिजन ड्रिमरी प्रा.लि.की सञ्चालक जुनुकला राईलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
राईले नेपाली कला र सिपबाट सृजित विभिन्न प्रकारका सामानहरू उत्पादन तथा बिक्री वितरण गर्ने गराउने सम्बन्धी स्वीकृति लिई इजाजतको समेत बर्खिलाप हुने गरी १६ देखि २५ वर्ष उमेर समूहका धेरैजसो युवायुवतीलाई आकर्षक आम्दानी, विभिन्न वैदेशिक भ्रमणलगायतका प्रलोभन दिई न्यूनतम ११ हजार तीन सय देखि अधिकतम पाँच लाखसम्म तिरी सदस्यता लिन लगाएर १४ जना पीडितहरूबाट नगद सत्र लाख तिन हजार चार सय र ३६ जना पीडितहरूबाट नगद अड्तिस लाख उन्नाइस हजार चार सय बराबरको रकम ठगी गरेको पाइएको प्रहरीले उपरीक्षक रिजालले बताए ।
रिजालका अनुसार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई उनी माथि अनुसन्धान भइरहेको छ।