काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तीबारे छिटै निर्णय गर्ने बताएका छन्।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उक्त छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक गरी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको समेत प्रशंसा गरेका थिए ।