काठमाडौँ – वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को मार्चमा ९९ सय हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका छन् । अंग्रेजी वर्ष सन् २०२३ को शुरुवातदेखिनै विदेशी पर्यटक आगमन निरन्तर बढ्दो क्रममा छ । जसअनुसार जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार दुई सय ५५ विदेशी पर्यटक नेपाल आएका छन् ।
कोरोना महामारी आउनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ २ लाख ३० हजार ८५ संख्यामा खुम्चियो । त्यसैगरी सन् २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले समग्रमा वर्ष २०७९ वर्ष पर्यटन क्षेत्र पुनरुत्थानको वर्ष भएको र पर्यटकको बढोत्तरीले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको बताउनुभयो । “पर्यटनका हिसावले समष्टिगत रुपमा वर्ष २०७९ सुखद् रह्यो”, उहाँले भन्नुभयो, “हरेक महिना पर्यटक आगमन बढ्दो क्रममा रहेको छ । साउनदेखिनै पर्यटक बढिरहेका छन् । हरेक महिना औसतमा ७० प्रतिशतभन्दा माथि पर्यटन आगमन भएको देखिन्छ । वर्षको अन्त्यमा झण्डै ८० प्रतिशत ‘रिभाइभ’ भएको छ ।”
निर्देशक लामिछानेका अनुसार आन्तरिक पर्यटनमा पनि चहलपहल बढेको छ । वर्ष २०७८ मा आन्तरिक पर्यटक झण्डै एक सय २० प्रतिशत चहलपहल थियो भने २०७९ मा एक सय ३० प्रतिशित ‘मुभमेन्ट’ बढेको छ । अर्थात् कोभिडपूर्वको अवस्थाभन्दा ३० देखि ३५ प्रतिशत पर्यटनको चहलपहल बढेको उहाँको भनाइ छ ।
वर्ष २०७९ मा पर्यटकीय पूर्वाधार थपिएका यसले थप उत्साह थपेको छ । होटल रेस्टुराँमा लगानी बढेको छ भने अन्तर्राष्ट्रिय चेन होटल पनि भित्रिने शृङ्खला शुरु भएकाले यसले पर्यटन क्षेत्रलाई थप उत्साह थपेको छ ।