काठमाडौं– मानवअधिकार तथा शान्ति समाजले अयोग्य घोषित माओवादी लडाकुलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अयोग्य घोषित माओवादी लडाकुलाई दुई लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
उक्त निर्णय खारेज गर्न समाजले बिहीबार सभामुख देवराज घिमिरेसँग आग्रह गरेको हो । शान्ति प्रक्रियाका क्रममा अनमिनले ४ हजार ८ जना माओवादी लडाकुलाई अयोग्य घोषित गरेको थियो । उनीहरूलाई दुई लाख रुपैयाँका दरले दिने सरकारको निर्णय खारेज गर्न समाजले माग गरेको हो ।
समाजको प्रतिनिधिले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने र ‘जनयुद्ध दिवस’ भनी राष्ट्रिय दिवसका रुपमा मनाउने सरकारको दुवै निर्णय खारेज गर्न माग गरेका हुन् ।
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार गोविन्द खनाल, काठमाडौं शाखा सभापति भगवान पुडासैनीले सभामुख घिमिरेलाई भेटेर ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेका हुन् ।