महेन्द्रनगर – कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’ को फाइनल प्रतिस्पर्धा यही वैशाख ८ गते शुक्रवर हुँदै छ। उक्त प्रतियोगितामा सुदूरपश्चिमबाट सहभागी न्याथन रायन पनि फाइनलमा पुगेका छन्।
नाथन कञ्चनपुरबासी हुन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जन्मिएका उनको स्नातकसम्मको पढाइ त्यहीँ बित्यो। महेन्द्रनगरस्थित अमिटी कलेजबाट उनले बीबीए उत्तीर्ण गरेका छन्।
महेन्द्रनगरबाट उनी काठमाडौं आए। कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका नाथन मण्डला थिएटरका विद्यार्थी पनि हुन्। मण्डलामा सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मा उनले अभिनय गरिसकेका छन्। पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्का पञ्जा ४’ मा समेत भूमिका पाएपछि उनीसँग ठूलो पर्दाको समेत अनुभव छ।
सन् २०१९–२० का लागि अमेरिकी दूतावास युथ काउन्सिल मेम्बर नाथन आफूले कलेज पढ्दादेखि मात्र कविता लेखेको बताउँछन्।
सपनालाई पछ्याउँदै सपनाको शहर पसे
जागिरको सपना देखेका उनका साथीहरूले जागिर पनि खाए। कोही युरोप अमेरिकातिर हानिए। तर, उनी भने शहरमा आफ्नो सपना खोज्दै रहे। त्यही बेला हो उनी काठमाडौं आएको पनि। यहाँ उनले आफ्नो परिचय खोजे। रातदिन संघर्ष गरे। आफ्नो अन्योलता, भविष्य र देशबारे आफ्ना भावनाहरू शब्दमा लेख्न थाले। जब लेख्न थाले उनले आफ्नो लेखाइमा आफ्नो परिचय देख्न थाले। थिएटर जोइन गरे। कविताको भिडियो बनाएर अपलोड गर्न थाले। कतिले उनको कविताको शैली र शब्दमा खोट देखाए, कतिले उनको स्वरमा दम देखेनन्। तर उनी लागिरहे निरन्तर–निरन्तर। काठमाडौंको मण्डला थिएटरमा आबद्ध भएर नाटक सिके। कविता लेखे र उनले नयाँ परिचय बनाए, ‘न्याथन रायन’।
महेन्द्रनगर पढ्ने बेला महाकालीमा अवस्थित दोधाराचाँदनी झोलुङ्गे पुलबाट पश्चिमतिर साँझपख देखिने सूर्यास्तको दृश्य हेर्न हरेक सप्ताहन्तमा त्यहाँ पुग्ने उनी बताउँछन्। बिहानीको सूर्योदयसँगै कलेज जाने हतारो अनि साँझको सूर्यास्त हेरेर पनि घर फर्किने हतारोलाई मसिनोगरी बुझ्ने प्रयत्न गर्दा उनले जीवनका हरेक घटनालाई हरेकको जीवनमा मेल खानेगरी लेख्ने प्रयास गरे। उनले रहरैरहरमा कविता लेखेका हुन्। तर, त्यसपछि ती रहर कतिखेर जीवनमा आरोह अवरोहमा खप्टिन पुगे, त्यो आफैँलाई थाहा नभएको उनी बताउँछन् ।
लामो र बाक्लो दाह्री, लठ्ठा परेको लामो कपाल अनि माहौल जमाउन सक्ने दमदार आवाज। अलग्गै पहिरनले मात्र हैन, न्याथनका शब्द र शैलीले उनको व्यक्तित्वले अहिले निकै चर्चा बटुलिरहेको छ।
‘आफैँलाई खोज्दा भोकै रात काटेँ’
उनले आफैँलाई खोज्दै हिँडेको काठमाडौं शहरमा भोकै बसेको अनुभव उनीसँग छ। लकडाउनमा चाउचाउको झोल र चिउरासँग रात बिताएको अनुभव छ। अधिकांश बेला डोट्याली भाषामा बोल्ने उनलाई काठमाडौंले कर्णालीपारिको नेपाललाई हेर्ने यहाँको दोषी नजरको हिसाब छ । काठमाडौं बस्दा कोरोनाका कारण जारी लकडाउन उनका लागि उर्बर समय रह्यो । त्यस समयमा केबल कविता मात्र आफ्नो साथी रहेको उनी बताउँछन्।
‘बन्द कोठाभित्रबाट संसार हेर्ने प्रयत्न गरेँ । एक्लै थिएँ, केवल कविता साथी बन्यो। भित्तालाई स्रोता बनाएँ। त्यसपछि कोरोनाको सङ्क्रमणकालमा पनि बाँच्न सकेँ,’ उनी भन्छन्, ‘यस कारण साहित्यले हरेक अप्ठ्याराहरूसँग पनि जुध्न र आफूलाई परिष्कृत गर्न सहयोग गर्छ ।’
‘जीवनमा सदैव ओहोरदोहोर गरिरहने आरोह–अवरोहले ओतप्रोत भावलाई म कवितामार्फत व्यक्त गर्ने प्रयासमा छु। जहाँ मलाई तपाईँहरूले दिनुभएको असिम माया, प्रेम र स्नेहले थप शक्ति प्रदान गरेको छ । यसकारण पनि म तपाईँहरूको अनन्त साथ चाहन्छु,’ उनले भनेका छन् ।