धनगढीः भारतको उत्तर प्रदेशमा एक जना पूर्व साँसद तथा उनका भाइको गोली हानी हत्या गरिएको छ।
उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतिक अहमद र उनका भाइ असरफमाथि गोली प्रहार भएको हो। पत्रकारको भेषमा आएका आक्रमणकारीले दुबै जनालाई गोली प्रहार गरेको भारतीय प्रहरीले जनाएको छ। आक्रमणकारी पक्राउ परेका छन्।सञ्चारकर्मीहरुसँग कुरा गरिरहेको अवस्थामा उक्त स्थानमा पत्रकार बनेर आएका आक्रमणकारीले दाजुभाइमाथि गोली बर्साएका थिए। प्रहरीका अनुसार स्थानीय अस्पतालतर्फ जाँदै गरेको समयमा अतिक पत्रकारहरुसँग कुराकानी गर्दै थिए।
त्यसपछि नजिकै रहेका आक्रमणकारीले पूर्वसांसद र उनका भाइलाई लक्षित गरेर अन्धाधुन्द गोली प्रहार गरे। उक्त घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उच्चस्तरीय बैठक बोलाएर जाँचबुझका लागि आदेश दिएका छन्। यसनिम्ति तीन सदस्यीय न्यायिक आयोग गठन गरिएको बताइएको छ।
अतिकमाथि उत्तर प्रदेशका प्रहरी राजु पालको हत्या प्रकरणका साक्षी उमेश पालको हत्या आरोप लागेको थियो। अतिक र उनका भाइ असरफलाई प्रहरीले पक्रेर सोधपुछ गरिरहेको र न्यायिक हिरासतमा पठाउनुअघि स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै गर्दा उक्त घटना भएको हो।
अतिकलाई राजु पालको हत्या प्रकरणमा आजिवन काराबासको सजाय सुनाइएको थियो। उनका भाइ असरफले भने सफाइ पाएका थिए। अतिकले सर्वोच्च अदालतमा हिरासतमा आफू असुरक्षित रहेको निवेदन यसअघि नै हालेको बताइन्छ।
उनीविरुद्ध एक सयभन्दा बढी मुद्दा दर्ता छ। दुई दिनअघि बिहीबार मात्रै अतिकका छोरा असद र उनका सहयोगी गुलाम मोहम्मद प्रहरीको जवाफी आक्रमणमा मारिएका थिए। उनीहरुको अन्तिम संस्कार हिजो दिउँसो प्रयागराजमा नै गरिएको थियो। दुवै जनाको नाममा उत्तर प्रदेश सरकारले पाँच लाख रुपैयाँको पुरस्कारको घोषणा गरेको थियो।