धनगढीः सर्वोच्च अदालतमा रिट हालेर रवि लामिछानेको सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफलले विद्धुतको बक्यौता असुल्न माग गर्दै नेपाल बिद्धुत प्राधिकरणमा निवेदन हालेका छन्।
विभिन्न उद्योग तथा कम्पनीले विद्युत महशुलको बक्यौता रकम नबुझाएकोले तत्काल ती कम्पनीसँग रकम असुल उपर गर्न माग गर्दै उनले हिजो प्राधिकरणमा निवेदन दिएका हुन्। बक्यौता बुझाउन ३५ दिनको समयसीमा तोकी ताकेता गर्न प्राधिकरणलाई भनेका उनले अन्थया लाइन काट्न माग गरेका छन्।
‘विभिन्न उद्योगधन्दा तथा कलकारखानाले नेपाल विद्युत प्राधिकरणको विद्युत महशुल नबुझाएको एंव बुझाउन आनाकानी गरिरहेको भन्ने खबर सार्वजनिक हुने गरेका सम्पूर्ण बक्यौता बुझाउन बाँकी उद्योग एंव कम्पनीहरुलाई ३५ दिनको समयसीमा तोकी विद्युत महशुलको बक्यौता तिर्न समय दिन एंव नदिएमा सो उद्योग एंव कम्पनीहरुको लाइन काट्न अनुरोध गर्दछु’, युवराजले प्राधिकरणमा बुझाएको निवेदनमा भनिएको छ।
उनका अनुसार जगदम्बा स्टिल इण्डष्ट्रिज, रिलायन्स स्पिनिंग मिल्स, शिवम् सिमेण्ट उद्योग, घोराही सिमेण्ट उद्योग, अर्घाखाँची सिमेण्ट, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, मारुती सिमेण्ट उद्योग, हिमाल आइरन एण्ड स्टिल, नारायणी स्पात उद्योग र सोनापुर मिनिरल एण्ड आयलले विद्युत महशुलको बक्यौता रकम बुझाउन बाँकी रहेको छ।
त्यसैले, यी उद्योग एंव कम्पनीले तिर्नुपर्ने बक्यौता रकम समेत उल्लेख गर्दै निवेदनमा ३५ दिनभित्र रकम असुल उपर गर्न माग गरिएको छ।