काठमाडौं – अमेरिकी नागरिकले नेपालमा अध्ययन भिसा लिँदा लाग्ने दस्तुर घटाईएको छ । अध्यागमन विभागले अमेरिकी विद्यार्थीसँग यसअघि लिँदै आएको दस्तुरमा दुई सय डलरले घटेको जानकारी दिएको छ ।
विभागका अनुसार अब अमेरिकाको राहदानी बाहकलाई अध्ययन भिसा जारी गर्दा १६० डलर मात्रै लाग्ने छ । यसअघि भिसा दस्तुर ३६० डलर रहेको थियो ।
गत फागुन ३० गतेको क्याविनेट बैठकले उक्त निर्णय गरेको र बैशाख १ गतेदेखि लागू भइसकेको विभागले बताइएको छ । विभागका निर्देशक (सूचना अधिकारी) कमलप्रसाद पाण्डेले दुई मुलुकबीचको पारस्परिकताका आधारमा यस्तो निर्णय गरेको बताए ।
उनका अनुसार यसअघि एक वर्ष अगाडि नै अमेरिकी सरकारले सो मुलुकमा अध्ययनका लागि जाने विद्यार्थीलाई लाग्ने भिसा शुल्क घटाएर १६० डलर कायम गरेको थियो ।
सो नियम नेपाली विद्यार्थीको हकमा समेत लागू भएकोले पारस्पारिकताका आधारमा नेपालले पनि ५ वर्षे मल्टिपल भिसा (अध्ययन) मा लाग्ने शुल्क १६० कायम गरेको जनाइएको छ ।