काठमाडौँ – काँग्रेस सांसद आरजु देउवा राणाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने पाँच सुझाव दिएकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले विभिन्न सुझाव दिएकी हुन् ।
उनले सरकारी विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय व्यवस्थापन समिति गठनमा सुधार गर्न आवश्यक रहेको बताएकी छन् । ‘विद्यालय व्यवस्थापन समितिको गठनमा धेरै राजनीति भएको देखिएको छ । व्यवस्थापन समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अद्यावधिक गर्नुपर्छ’ उनको सुझाव छ ।
यस्तै उनले अंग्रेजी भाषामा अध्यापन गराउँदा शैक्षिक गुणस्तर सुधार हुन सक्ने सुझाव दिएकी छन् । देशभरका आधारभूत विद्यालयमा अंग्रेजी भाषाबाट पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति नियम र स्रोत साधनको सुनिश्चितता गरिनुपर्ने उनको भनाई छ ।
यसैगरी विद्यार्थी भर्नादर बढाउन आवश्यक रहेको पनि उनले बताएकी छन् । समाजका सबै पक्षले ध्यान दिएर भर्नादरमा वृद्धि गर्नुपर्ने उनको सुझाव छ ।
शिक्षामा कुन तहको सरकारको के कति अधिकार र क्षेत्राधिकार हो भनी निर्क्योल गरिनुपर्ने पनि उनको अर्को सुझाव छ । शिक्षाबारे सङ्घ प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट गरिनुपर्ने उनको भनाई छ ।
यसैगरी उनले विद्यार्थीले प्राप्त गर्ने नतिजाका आधारमा शिक्षक र विद्यालयको मूल्याङ्कन गर्नुपर्ने प्रस्ताव राखेकी छन् । विद्यालयको पठनपाठनको सन्दर्भमा समेत निरन्तर अनुगमन-मूल्याङ्कन हुन आवश्यक रहेको सांसद राणाको सुझाव छ ।