काठमाडौं – नेपाल समाजवादी मोर्चा, ईन्टरनेशनल ईन्टेलिजेन्स ब्यूरो (आईआईबी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको ड्राइभर शम्भु थापाको घटना प्रकरणबारे प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ ।
गत वैशाख ४ गते भरतपुर महानगरपालिका ११ मा रहेको लामिछानेको तीन तले घरबाट खसेर गम्भीर घाइते भएका थापाको घटना प्रकरणबारे छानबिन गरेर आईआईबीले प्रतिवेदन सार्वजनिक गरेको हो । थापालाई हत्या गर्ने योजनाका साथ मदिरा पार्टीको आयोजना गरेर सुनियोजित तरिकाले खसालिएको प्रतिवेदनको निष्कर्ष छ ।
घटनाको भोलिपल्ट चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका लामिछानेलाई चुनावी कार्यक्रममा लैजाने तालिका हुँदाहुँदै राति २ बजेसम्म मदिरा सेवन गर्नुले प्रश्न उब्जाएको प्रतिवेदनमा उल्लेख छ । भनिएको छ, ‘भोलिपल्ट उम्मेदवार रवि लामिछानेको चुनावी कार्यक्रमको सेड्युल रहेको र सो कार्यक्रममा चालक शम्भु थापाले नै लामिछानेलाई गाडीमा लैजाने भएको हुँदा राति २ बजेसम्म मदिरापानसहितको पार्टी गर्ने अनुमति लामिछानेको स्वीकृति बेगर कसरी प्राप्त भयो ?’
त्यस्तै, आईआईबीले रास्वपाका महामन्त्री मुकुल ढकालको ड्राइभर र सभापति लामिछानेको ड्राइभरको शरीरमा रहेको मदिराको मात्राको रिपोर्ट सार्वजनिक गर्न माग गरेको छ । थापालाई धेरै मदिरा पिउन लगाउनु भन्दै लामिछानेले ढकालको ड्राइभरलाई भनेको सुन्नमा आएको हुनाले यस विषयमा पनि छानबिन हुनुपर्नेमा जोड दिइएको छ ।