काठमाडौँ – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले स्थापनाको १० औं वर्ष पूरा गरेको उपलक्ष्यमा यही बैशाख ११ गते भव्यताका साथ वार्षिकोत्सव मनाउन लागेको हो । उक्त अवसरमा केन्द्रले मानव अंग प्रत्यारोपण, मृत्युपछिको अंगदान तथा मस्तिष्क मृत्युबाट हुने अंगदानसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत रहेको केन्द्रले स्थापनाको एक दशकमा अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलब्धि हात पारेको छ । यो अवधिमा १०४६ जनाको मृगौला र १० जनाको कलेजो प्रत्यारोपण गरिसकेको केन्द्रले जनाएको छ । केन्द्रमा भएका ९९ प्रतिशत प्रत्यारोपण सफल भएका छन् । यो अवधिमा केन्द्रले अंगदान तथा प्रत्यारोपणसम्बन्धी कानून निर्माण एवं परिमार्जनमा ठूलो उपलब्धि हासिल गर्नुका साथै धेरै प्रत्यारोपण गर्नेमध्ये संसारकै उत्कृष्ठमध्येको एक संस्थाको रुपमा रहन सफल भएको छ ।
यो अवधिमा केन्द्रले पहिलोपटक मस्तिष्क मृत्युबाट हुने मिर्गौला एवं कलेजो प्रत्यारोपण तथा अंगदानसम्बन्धी व्यापक प्रचारप्रसार, देशभरी डायलासिस विस्तार र प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्य गर्न सफल भएको जनाएको छ ।
केन्द्रले हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र कर्णाली प्रदेश अन्र्तगत सुर्खेत प्रदेशिक अस्पतालमा प्रत्यारोपण सेवा सुरु गरिसकेको छ । यो सेवालाई क्रमशः कैलालीको सेती अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौडा अस्पताल र विराटनगरको कोशी प्रादेशिक अस्पतालमा विस्तारको तयारी गरिरहेको छ ।
केन्द्रले करिब २०० जना स्टाफ नर्स तथा प्रविधिकलाई तालिम दिइ डायलाइसिस सेवा देशभर विस्तार गरिरहेको छ । सरकारी अस्पताल तथा निजी अस्पतालमा भएका मिर्गौला प्रत्यारोपण कार्य यही केन्द्रवाट तालिम प्राप्त जनशक्तिबाट भएको केन्द्रको दाबी छ ।