धनगढीः झुलाघाटस्थित महाकाली नदीमाथि मोटरेवल पुल निर्माण हुने भएको छ। नेपाल र भारत जोड्न महाकाली नदी माथि निर्माण हुने उक्त पुल क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ।
उत्तराखण्डको अल्मोडा र पिथौरागढ जिल्लाका प्राबिधिकहरुले हिजो स्थलगत निरीक्षण गरेका हुन। इन्जिनियर ओम प्रकाश नेतृत्वको प्राबिधिक टोलीले नेपाल र भारत दुबै तर्फको स्थलगत निरीक्षण गरेको हो।
यो पुल भारत सरकारको आर्थिक सहयोगमा बन्ने छ। पुल निर्माण हुने चर्चा सन् २००६ बाटै सुरु भएको थियो। त्यतिबेला अहिले झोलुंगे पुल रहेको क्षेत्रमा १ सय ५ मिटर लम्बाइको मोटरेवल पुल बनाउने योजना थियो। तर, पञ्चेश्वर परियोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै काम अगाडि बढेन।
अहिले नेपाल र भारतका नागरिक झोलुंगे पुल भएर आउजाउ गर्छन। सुगौली सन्धिताका बनेको यो पुल पनि जीर्ण हुँदै गएको छ। भारतीय प्रशासनको आदेशमा अल्मोडाका इन्जिनियर ओम प्रकाशले हिजो स्थलगत निरीक्षण गरेपछि पुल बन्नेमा स्थानीय आशावादी भएका छन्। अहिले बन्ने भनेको यो पुलको लम्बाई ५ सय मिटर हुनेछ। मोटर पुल निर्माणका लागि करिब ४ सय करोड लागत अनुमान गरिएको छ।