काठमाडौं – सरकारले आज तीन नायब प्रहरी महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गरेलगत्तै सर्वोच्च अदालतमा रिट परेको छ ।
बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले लोकसेवा आयोगको सदरपछि बढुवा गरेको केही बेरमै डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध केही बेर अघि मात्रै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।
चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो।
तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए।
उक्त उजुरीमाथि कारबाही गर्दै लोक सेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई नै सदर गरेको थियो।
उजुरी सुन्ने समितिले सदर गरेपछि आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका तीनै जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, बढुवा प्रक्रिया नै गलत भएको भन्दै सिनियर डीआईजीहरूले आज सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।