काठमाडौं- नाफागत व्यवसायमा आफ्नो संलग्नता बढाएको आरोप खेपिरहेको नेपाली सेनाले कमिशनको लोभमा प्रक्रिया मिचेर छिमेकी राष्ट्र चीनबाट ६ अर्ब रुपैयाँ बराबरको हतियार खरिद गर्ने तयारी गरेको रहस्य खुलेको छ। सैनिक स्रोतका अनुसार नेपाली सेनाले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको आगमनसँगै एजेन्ट लोकेन्द्र कार्कीमार्फत ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्ने तयारी गरेको रहस्य खुलेको हो।
चीनबाट एकैपटक ठूलो परिणाममा हतियार खरिद गर्ने भएपछि स्थानीय पुरानो एजेन्ट नै परिवर्तन गर्दै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीका भाइ लोकेन्द्र कार्कीमार्फत हतियार ल्याउन लागिएको स्रोतको दाबी छ। स्रोतका अनुसार बिना प्रतिस्पर्धा सेनाले गोप्य रुपमा परराष्ट्र मन्त्रालयको सल्लाहबिना सिधै चिनियाँ दूतावासलाई पत्र पठाएर चीनबाट केटू हतियारसहित २६ वटा एपीसी र ७२ वटा ट्याक्टीकल भेइकल खरिद गर्न लागेको हो।
स्रोत भन्छ, ‘पारदर्शी प्रक्रिया नै नअपनाई सुटुक्क नेपालस्थित चिनियाँ दूतावासमार्फत् कोटेशन मगाएर महंगोमै स्वीकृति लिएर हतियार खरिद गरिँदै छ।’ जसमा चार करोड पनि नपर्ने एपीसीको मूल्य सात करोड ७५ लाख राखिएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले नेपाली सेनाले गर्न लागेको हतियार खरिदका विषयमा अनविज्ञता जनाए। भण्डारीले भने, ‘नेपाली सेनाले चीनबाट हतियार किन्ने विषयमा अहिलेसम्म मलाई कुनै पनि जानकारी छैन।’
हतियार खरिदको विषयमा रक्षा मन्त्रालय पनि जानकार छैन। हतियार खरिदको विषयमा जिज्ञासा राख्दा रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश पौडेलले भने, ‘नेपाली सेनाले हतियार किन्ने विषयमा मलाई केही पनि जानकारी आएको छैन।’
हतियारको विषयमा चिनियाँ कम्पनीसँग डिल गर्ने नेपालस्थित प्रतिनिधि लोकेन्द्र कार्कीले समेत हतियार खरिदका विषयमा आफूलाई थाहा नभएको बताए। उनले यसमा आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन्। उनले भने, ‘मलाई यो विषयमा केही जानकारी छैन। म यसअघि नेपाली सेनासँग जोडिएर अरु केही काम गरेका कारण यस पटक पनि मेरो नाम आएको हुनसक्छ। तर मलाई अहिले यो विषयमा केही थाहा छैन। म हतियार किन्ने विषयमा कतैबाट पनि संलग्न छैन।’ कार्कीले आफ्नो सिंगापुर लगायत देशमा ‘विजनेश’ भएको र धेरैजसो समय उतै रहने र अहिले सेनासँग कुनै पनि काम नगरेको सुनाए।
हतियार खरिदमा ठूलो चलखेलको आशंका
राजनीतिक संक्रमणको फाइदा उठाउँदै हतियार खरिदका लागि नेपाली सेनाका केही उच्च अधिकारी लागेकाले यसमा ठूलो आर्थिक चलखेलको आशंका सिर्जना भएको छ। त्यसो त यसअघि भू–राजनीतिक सन्तुलन राख्ने भन्दै नेपाली सेनाले भारतीय कम्पनी महेन्द्रको चार वटा एपीसी तीन करोड ९८ लाखमा लिएको थियो। तर उस्तै प्रकृतिको एपीसी किन्दा भारतबाट भन्दा चीनबाट बढी कमिशन आउने भएकाले चीनबाट किन्न लागिएको स्रोतको दाबी छ। कमिशनको लोभमा उच्च राजनीतिक नेतृत्वलाई समेत प्रभावमा पारेर प्रक्रिया मिच्न लागिएको सैनिक स्रोतको दाबी छ। स्रोतले भन्यो, ‘लोकेन्द्र कार्कीको प्रभावमा परेर पहिले नेपाली सेनाले कोरियाबाट ल्याएका धेरै केटु हतियार नचलेपछि पुनः हतियार ल्याउने प्रयास भइरहेको छ।’