काठमाडौं : लोकसेवा आयोगमा दरखास्त दिएका करिब चार लाख आवेदकको तथ्यांक (डाटा) हराएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि लोकसेवा आयोगलगायत करिब ६० वटा सरकारी निकायको डाटा हराएको हो।
पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भए पनि ‘डाटा रिकभर हुनेरनहुने यकिन गर्न सकिने अवस्थामा नरहेको’ जवाफ केन्द्रले सम्बन्धित निकायलाई दिएको छ।
लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले तीन महिनायता आयोगले पुरानो ब्याकअपबाट काम चलाउँदै आएको जनकारी दिए। ‘कात्तिक, मंसिर र पुसको डाटा अहिले आयोगसँग छैन। यस अवधिमा करिब चार लाख दरखास्त परेको थियो’, उनले भने, ‘नयाँ खाता बनाएर दरखास्त दिने करिब १६ हजारको डाटा हामीसँग केही पनि छैन। आयोगले केन्द्रसँग यस वर्षको सबै डाटा चाँडो रिकभर गर्न पत्राचारका साथै दबाब दिइरहेको छ तर केन्द्रले ‘प्रयास गरिरहेको छौँ’ भनेर अल्झाइरहेको छ।’
सूचना अधिकारी सुवेदीले केन्द्रबाट डाटा रिकभर भएर आए आयोगलाई परीक्षा सञ्चालन गर्न सहज हुने बताए। उहाँले छिटोभन्दा छिटो डाटा रिकभर गर्न केन्द्रलाई यसअघि थुप्रै पटक पत्राचार गरेको जानकारी दिए।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेश पोखरेलका अनुसार लोकसेवा आयोगको डाटा रिकभर प्रक्रियामा रहेको बताए।
उनले करिब दुई महिनाको डाटामा समस्या देखिएको बताए। ‘यो सर्भर अन्तर्राष्ट्रिय कम्पनी ओराकलले केन्द्रमा राखेको हो। यसको सञ्चालन हामीले गर्दै आएका थियौँ’, उनले भने, ‘यसमा रहेका डाटा रिकभरी प्रक्रिया ओराकल कम्पनीले नै गरिरहेको छ। भर्खरै ल्याएको हुनाले यसको मिरर सर्भर (ब्याक अप)मा राखिएको थिएन। धेरै समयको त होइन तर दुईरतीन महिनाजतिको डाटा हराएको हो। अहिले आयोगले पुरानो ब्याकअप सर्भरमा रहेको डाटाबाट काम चलाइरहेको छ।’
केन्द्रका सूचना प्रविधि शाखामा कार्यरत सुमोद पोखरेलले ओराकल कम्पनीले केन्द्रमा राखेको सर्भरमा आयोगको वेबसाइट रहेको र त्यही सर्भरमा समस्या आएकाले डाटा प्राप्तिमा समस्या देखिएको बताए।
केन्द्रले हालसालै आयोगलाई रिकभरी प्रक्रिया कहिले पूरा हुन्छ र कति समय लाग्छ, यसै भन्न नसकिने बताएको स्रोतले जानकारी दिएको छ। यस्तो अवस्थामा लोकसेवा आयोग अब के गर्ने भन्ने अवस्थामा छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।