धनगढीः जबरजस्ती करणी गरेको आरोपमा एक पत्रकार समातिएका छन्। मकवानपुरका पत्रकार ईन्द्रप्रसाद बञ्जारा (रमेश) बलात्कारको अभियोगमा समातिएका हुन्।
उनी पत्रकार पक्राउ परेपछि नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाले ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अध्यक्ष मणिराज गौतमले घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कानुनबमोजिम कारबाही र निर्दोषलाई न्याय दिलाउन माग गरेका छन्।
उनले विज्ञप्ति जारी गर्दै निष्पक्ष र दोहोरो तवरले छानबिन हुनुपर्नेमा जोड दिएका छन्। गत चैत ३० गते एक महिलाले असहमतिमा शारीरिक सम्पर्क राखेको आरोप लगाएपछि जिल्ला प्रहरी कार्यालय, मकवानपुरको नियन्त्रणमा रहेका बञ्जाराको विषयमा कुनै दबाब र प्रभावमा नपरी अनुसन्धान गर्न उनले आग्रह गरेका छन्।
‘जिल्ला प्रहरी कार्यालय, मकवानपुरलाई घटनाको निष्पक्ष र दोहोरो छानबिन गरी चाँडोभन्दा चाँडो दोषीलाई कानुनअनुसार कारबाही र निर्दोषलाई न्याय दिलाउनका लागि कुनै दबाब र प्रभावमा नपरी अध्ययन तथा अनुसन्धानका लागि महासंघ मकवानपुर जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।