काठमाडौँ– सरकारले लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको हो।
तत्कालका लागि काठमाडौं उपत्यकालगायत प्रदेशभित्रै चल्ने सवारीसाधनमा भने भाडा नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागका निर्देशक नमराज घिमिरेका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेका कारण सार्वजनिक यातायातको भाडा बढाइएको हो। व्यवसायीले केही सयमयता भाडा बृद्धि गर्न सरकारमाथि दबाब दिँदै आएका थिए।
अबदेखि इन्धनको मूल्य बढ्दा भाडा बढ्ने घट्दा भाडा पनि घट्ने प्रणालीको विकास गरिने विभागले जनाएको छ। विभिन्न रुटमा बढेको भाडादर र बढेको भाडा लागू हुने मिति आगामी आइतबार सार्वजनिक गरिने घिमिरेले बताए।
मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम यात्रुवाहक र मालवाहकसहित भूगोलअनुसार हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत वृद्धि गरेको हो।