कैलाली: नेकपा (एमाले) ले संघीय संसद अन्तर्गतका विभिन्न संसदीय समितिमा रहने सदस्यहरुको नाम टुंग्याएको छ।
सार्वजनिक लेखा समिति सदस्यमा सुदूरपश्चिमका दुई सांसदको नाम अगाडि बढाइएको छ। बैतडीका दामोदर भण्डारी र कञ्चनपुर–१ का सांसद तारा लामा तामाङको नाम लेखा समिति सदस्यका लागि पठाइएको एमाले स्रोत बताउँछ। यस्तै पूर्वाधार विकास समितिमा बाजुराका समानुपातिक सांसद दयालबहादुर शाहीको नाम पनि पठाइएको छ।
प्रतिनिधिसभाका दशवटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीवाट प्रतिनिधित्व गर्ने सदस्यको नाम एमालेले टुंग्याएको हो। नामावली संघीय संसद सचिवालयमा बुझाइएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई नामावली बुझाएका थिए।
पूर्वाधार विकास समितिमा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला (देवकोटा), प्रेमबहादुर महर्जन र राजकुमार गुप्तालगायतको नामावली पठाइएको छ।
सार्वजनिक लेखा समितिमा भण्डारी र तामाङ बाहेक योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी र रुक्मणी राना बराइलीको नाम पनि पठाइएको छ।