डडेलधुरा: सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना उग्रतारा– मेलौली सडकअन्तर्गत थप १० किलोमिटर सडक कालोपत्रे सुरु भएको छ । डडेलधुराको उग्रतारा मन्दिरको फेददेखि बैतडीको पञ्चेश्वर गाउँपालिका जोड्ने राजमार्ग निर्माण सुरु भएको तीन दशकपछि थप १० किलोमिटर कालोपत्रे हुन थालेको हो ।
सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय डडेलधुराको करिब २३ करोड रुपियाँ लागतमा कालोपत्रे हुन थालेको हो । पूर्वाधार विकास कार्यालय प्रमुख नवराज रावलले अजयमेरु गाउँपालिकाको–१, बयलडाँडादेखि–२, चमडासम्म कालोपत्रे गर्ने कार्य सुरु भएको बताउनुभयो ।
डीबीएस टी’ प्रविधिमा कालोपत्रे हुन थालेको यो सडकको चौडाइ भने पाँच मिटर रहेको छ। केएस कन्स्ट्रक्सनमार्फत कालोपत्रेको काम भइरहेको हो।
यसअघि उग्रतारादेखि बयलडाँडासम्म आठ किलोमिटर सडक सोही कम्पनीले कालोपत्रे गरेको छ।