काठमाडौं: काठमाडाैंकाे कपनकी निरा आचार्यको उनकै पसलमा लुटपाट गर्न पुगेका झापाका विनोद विकसँग प्रतिकार गर्ने क्रममा हत्या भएकाे खुलेको छ। पक्राउ परेका विनोदले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा निराले लगाएको सुनको सिक्री लुट्न खोज्दा प्रतिकार गर्न खोजेपछि हत्या गरेको बताएका हुन्।
विनोदले प्रहरीसँगको बयानमा भनेका छन्, ‘निराको पसलमा म सामान किन्ने निहुमा छिरेको थिएँ। त्यहीबेला गलाको सिक्री तान्न खोज्दा प्रतिकार गरेपछि छुरा हानेर हत्या गरेको हुँ।’
यद्पि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले विनोदको बयानबाट प्रहरी सन्तुष्ट नरहेको बताए।
७ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै ‘निरु किचेन’ पसलभित्रै बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको चक्कु प्रहारबाट वीभत्स हत्या भएको थियो। आचार्यको हत्या रहस्यमय बन्दै गएपछि सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति नै बनाएर अनुसन्धान अघि बढेको थियो।