धनगढी – दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुस्थित बोलिनमा अहिले पनि हिमपात जारी छ। अस्तीदेखि सुरु भएको हिमपात आज पनि निरन्तर भैरहेको हो।
हिमपातकै कारण बोलिनमा आज (मंगलबार) दिउँसो २ बजेर ४५ मिनेटमा हिमपहिरो पनि गएको थियो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी तर्कराज पाण्डेयले हिमपहिरोमा परेर ५ जना बेपत्ता रहेको जानकारी दिए। उनले भने, ‘अहिले पनि हिमपात जारी छ, घटनास्थलमा प्रहरी पनि जान सकिने अवस्था छैन। करिब ५ फिट हिउँ जमेको छ। उद्धारमा खटिएको टोली पनि अँध्यारो भएर कठिनाइ भएपछि फर्किने अवस्थामा छ।’
यस्तै उनले बेपत्ताहरुमध्ये ३ जना महिला डोटीको बुडरका रहेको र एक पुरुष दार्चुलाकै दुँहु गाउँपालिका–पोक्सीका भएको खुलेको बताए।उनीहरुको पूर्ण परिचय भने खुल्न बाकी छ। त्यहाँ निरन्तरको हिमपातले गर्दा उद्धार कार्यमा कठिनाई भएको उनको भनाई छ। उद्दारका लागि सशस्त्र प्रहरीका डीएसपी इश्वरी भट्ट नेतृत्वको टोली र नेपाल प्रहरीको टोली हिमपात भएको ठाउँमा गएको छ। यार्सागुम्बा संकलन गर्न गएका १२ जना हिमपहिरोमा परेका थिए। जसमध्ये ५ जना अहिले अनि बेपत्ता छन् भने ७ जना भने सकुशल भेटिएका छन्। हिमपहिरो आउँदा आफूहरु भागेर जोगिएको उनीहरुले बताएका छन्।
यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस हिमपहिरोमा परेको थिए। यार्सागुम्बा संकलन गर्न दार्चुलासहित अन्य जिल्लाबाट त्यहाँ मानिसहरु जाने गर्दछन्। उनीहरु दिउँसो हिमालको फेदमा टेन्ट लगाएर बस्ने र दिउसो यार्सा टिप्न जान्छन्।