काठमाडौँ – नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउन सकारात्मक भएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी पदाधिकारीहरूको अनौपचारिक बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भएको हो ।
बैठकमा सहभागी माओवादी केन्द्रका सचिव गणेश शाहले रास्वपा र जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भएको बताए ।
सचिव शाहका अनुसार एक पक्ष रास्वपालाई सरकारमा ल्याउनु पर्छ भन्ने छ भने अर्को पक्ष सरकारमा ल्याउनु हुन्न भन्ने पक्षमा छ ।
‘रवि जीलाई सरकारमा ल्याउन छलफल भएको छ । एउटा पक्ष सरकारमा ल्याउनु हुन्न भन्ने र अर्को पक्ष ल्याउनु पर्छ भन्ने छ,’ बैठकपछि शाहले भने, ‘उहाँहरु सरकारमा आउन खोज्नु भएको छ । सकेसम्म उहाँलाई सरकारमा ल्याउने हो । उहाँ मात्रै होइन जनमत पार्टीलाई समेत सरकारमा ल्याएर बलियो बनाउने हो ।’